विश्व बेपत्ता दिवसको सन्दर्भमा रोल्पामा एक अन्तरक्रिया कार्यक्रम लिबाङमा सम्पन्न

मालश्री अन्लाइन, १५ भाद्र ।  विश्व बेपत्ता दिवसको सन्दर्भमा रोल्पाको लिबाङमा अन्तरक्रिया गरिएको छ । द्वन्द्वपीडित राष्ट्रिय सञ्जाल लुम्बिनी प्रदेशको आयोजना, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पा र नेपाल महिला सामुदायिक केन्द्रको सहआयोजनामा सोमबार आयोजित अन्तरक्रियामा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिका परिवार र सरोकारवालाको सहभागिता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले नगरपालिकाका द्वन्द्वपीडितलाई निःशुल्क स्वास्थ्य विमा गरिएको जानकारी दिनुभयो । नगरले गर्ने हरेक क्रियाकलापमा सहिद तथा बेपत्ता परिवार र द्वन्द्वपीडितलाई प्राथमिकता दिएको जानकारी दिनुभयो ।त्यस्तै सरकारी वकिल कार्यालय रोल्पाका प्रमुख नुमराज खनालले द्वन्द्वपीडितका सवालमा सबै संवेदनशील हुनुपर्ने भन्दै बेपत्ताका कतिपय विषय अदालतले पनि समाधान गर्नसक्ने भएकाले त्यसतर्फ आवश्यक पहल गर्न सरोकारवालालाई आग्रह गर्नुभयो ।अन्तरक्रियामा भाग लिँदै जङ्कोट निवासी द्वन्द्वपीडित पुनिखना विकले आफ्नो श्रीमान २२ वर्षअघि बेपत्ता भएको र अहिलेसम्म अत्तोपत्तो नभएको बताउनुभयो । ‘मेरो छोरी गर्भमा छँदा श्रीमान बेपत्ता हुनुभएको हो’ उहाँले भन्नुभयो, ‘अहिले छोरी २२ वर्ष पुग्यो, उसको बुवाको अत्तोपत्तो छैन ।’ घरजग्गाको लालपूर्जा समेत श्रीमानसँगै हराएकाले मृत्यु दर्ताविना नामसारी गर्न पनि मालपोतले नमानेको भन्दै पुनिखनाले बताउनुभयो । विद्युतको मिटर बक्स जडानका लागि पनि अर्को जग्गा खरिद गरेर त्यसैको लालपूर्जा पेश गरेर जडान गरेको उहाँको भनाई छ । उहाँले मृतक, बेपत्ता दुवै आयोगमा नाम नभएकोले अहिलेसम्म कुनै पनि राहत नपाएको गुनासो गर्नुभयो ।

 

द्वन्द्वपीडित राष्ट्रिय सञ्जाल लुम्बिनी प्रदेशका संयोजक श्रीकुमारी रोकामगरको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदी, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचनमगर लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमबारे बोल्दै नेपाल रेडक्रस सोसाइटी रोल्पाका सभापति डी.बी. घर्तीमगरले गत वर्षहरुमा नेपाल रेडक्रस सोसाइटी रोल्पाले बेपत्ता दिवस भव्य उपस्थितिमा मनाउँदै आएकोमा यसपटक कोभिड–१९ का कारण त्यसो नगरिए पनि विभिन्न सरोकार राख्ने संस्थाहरुसँगको सहकार्यमा यसपटक पनि बेपत्ताको सम्मान र सम्झना गरिएको बताउनुभयो ।कार्यक्रमको सञ्चालन पत्रकार एवम् अधिकारकर्मी दिनेश सुवेदीले गर्नुभएको थियो । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार रोल्पामा ३३ जना बेपत्ता पारिएका छन् भने नेपाल रेडक्रस सोसाइटीको तथ्यांकमा ६५ जना बेपत्ता पारिएका छन् । यसअघि मृतकमा नाम लेखाएपछि सरकारले दिने राहत पाउने भनिएपछि कतिपयले मृतकमा नाम लेखाएका थिए ।

225 total views, 3 views today