रोल्पामा मतदान केन्द्रमा ८ सय ६३ कर्मचारी खटिने

 

मालश्री अनलाइन, बैशाख २४ रोल्पा । रोल्पामा स्थानीय तह निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई तालिम दिइएको छ । जिल्लाका १ सय ७३ वटा मतदान केन्द्रमा खटिने ३ सय ४६ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई सदरमुकाम लिबाङमा हिजो र आज तालिम दिइएको हो । प्रमुख जिल्ला अधिकारी नेतृत्वको जनशक्ति व्यवस्थापन समितिले ८ सय ६३ जना कर्मचारीहरुको विवरण जिल्ला निर्वाचन कार्यालयमार्फत सिफारिस गरेकाले ती कर्मचारीहरुको व्यवस्थापनको काम भइरहेको मुख्य निर्वाचन अधिकृत दिलिपराज पन्तले जानकारी दिए । स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई सम्बन्धित तहमै खटाउने तयारी भइरहको पनि पन्तले बताए । रोल्पाका १० वटा स्थानीय तहमा १ लाख ४५ हजार ४ सय ४४ मतदाता मतदाता रहेका छन्। सबैभन्दा धेरै मतदाता रोल्पा नगरपालिकामा रहेका छन् भने सबैभन्दा कम थबाङ गाउँपालिकामा रहेका छन् । जिल्लामा अहिले ८१ मतदान स्थल र १ सय ७३ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी धृताकुमारी केसीले जानकारी दिनु भएको छ ।

342 total views, 1 views today