जनचेतनामूलक कार्यक्रम गरि फिस्टुला दिवस मनाईंदै

मालश्री अनलाइन, जेष्ठ ९ गते रोल्पा । हरेक वर्ष २३ मे का दिन फिस्टुला अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस मनाइने गरिएको छ ।

यस वर्ष पनि ूअहिले नै फिस्टुला अन्त्य गरौंः समुदायको सशक्तिकरणका लागि गुणस्तरिय स्वास्थ्य सेवामा लगानी गरौंू भन्ने नाराका साथ नेपालमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाईंदै छ । लामो र कठिन सुत्केरी व्यथाका कारण पिसाब थैली वा पिसाब नली वा ठूलो आन्द्रामा प्वाल पर्ने अवस्थालाई प्रसव फिस्टुला भनिन्छ ।

प्रसव फिस्टुला भएपछि महिलाहरु पिसाब नियन्त्रण गर्न सक्दैनन् र लगातार पिसाब वा दिसा योनीमार्गबाट बग्ने गर्दछ । फिस्टुला उपचारका लागि कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा आई एन एफ नेपालसँगको सहकार्यमा फिस्टुला उपचार केन्द्रको स्थापना गरिएको छ जसले विगत तीन वर्षदेखि सेवा पु¥याउँदै आइरहेको छ । फिस्टुला उपचार केन्दका केन्द्र प्रमुख कान्त प्रसाद सुवेदी केन्द्रमा उपलब्ध सेवा सम्बन्धमा भन्नुहुन्छ, ूयस उपचार केन्द्रमा विशेषज्ञ महिला चिकित्सक सहितको टोलीले निशुल्क उपचार गर्नुहुन्छ । साथै बिरामी र एकजना कुरुवाका लागि आउजाउ खर्च र बाटोमा खानाका लागि खर्च समेत उपलब्ध हुन्छ । ूनेपाली समाजमा फिस्टुला सम्बन्धी चेतनाको अभाव छ जसका कारण फिस्टुला भएका महिलाहरु प्रति समाजले छिछि र दूरदूर गर्ने गरेको पाइन्छ । एक त जनचेतनाको कमी त्यसमाथि उपचार गर्ने स्वास्थ्य केन्द्र धेरै नहुँदा विशेषगरी ग्रामीण भेगका फिस्टुला भएका महिलाहरु वर्षौं देखि सामाजिक अवहेलना सहित बाँच्नु परिरहेको छ । यसै विषयलाई मध्यनजर गरेर फिस्टुला उपचार केन्द्र, प्रदेश अस्पताल सुर्खेतले फिस्टुला सम्बन्धी चेतना मुलक सडक नाटक तथा पर्चा पम्पलेट वितरण गरि कार्यक्रम गर्दै छ ।

त्यसै गरि केन्द्रले आई एन एफ नेपाल सँगको सहकार्यमा आई एन एफ को आफ्नो कार्यक्षेत्र अन्तर्गतका कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा समेत विभिन्न चेतनामुलक कार्यक्रमहरु गर्ने योजना तय भएको कुरा फिस्टुला उपचार केन्द्रका प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

प्रसव फिस्टुलाका लक्षणहरु के के हुन् ?
 पिसाव वा दिसा नियन्त्रण गर्न नसक्नु र लगातार रुपमा दिन रात पिसाव वा दिसा बगिरहनु ।
 लगाएको कपडा वा ओछ्यान भिज्नु ।
 पिसाव वा दिसाकोे गन्ध आउनु ।
 एक्लोपन र उदासिन देखिनु ।
यस बाट बँच्न के गर्नुपर्छ?
सुरक्षित सुत्केरीका माध्यमबाट तपसिल बमोजिमका कुराहरुमा ध्यान पु¥्याउँदा फिस्टुलाबाट बच्न सकिन्छ ।
 बालबालिकाहरुलाई खानामा विभेद नगरि सन्तुलित आहारमा बिशेष ध्यान दिने ।
 सानो उमेरमा (२० बर्ष भन्दा पहिले) विवाह नगर्ने र बच्चा नजन्माउने ।
 गर्भवती भएको ४, ६, ८ र ९ महिनामा ४ पटक गर्भवती जाँच गराउने ।
 तालिम प्राप्त स्वास्थ्यकर्मीबाट स्वास्थ्य संस्थामा सुत्केरी गराउने ।
 समयमानै समस्याको पहिचान गरि सुबिधा सम्पन्न स्वास्थ्य संस्थामा प्रेषण गर्ने ।
हाल नेपालमा प्रसव फिस्टुलाको उपचार हुने अस्पतालहरुमा कर्णाली प्रदेश सुर्खेतको प्रदेश अस्पताल, मोडेल अस्पताल काठमाडौं र बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हुन् ।
फिस्टुला उपचार केन्द्र, प्रदेश अस्पताल, कर्णालीको सम्पर्क नं.०८३ ५२०९१५, ९८६४७३८८९८ (स्वास्थ्यकर्मी)

131 total views, 1 views today