ललित साहित्य परिषद्, रोल्पाको अध्यक्षमा के.बी. विरही

मालश्री अनलाइन, जेष्ठ २८ रोल्पा । रोल्पाको जेठो साहित्यिक संस्था ललित साहित्य परिषद् रोल्पाको आठौं अधिवेशन शनिबार लिबाङमा सम्पन्न भएको छ । परिषद्का कार्यवाहक अध्यक्ष नवीन लोचनमगरको अध्यक्षतामा नगर पुस्तकालयमा आयोजित अधिवेशनको उद्घाटन शत्रमा रोल्पा नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा साहित्यकार पुरण क्षेत्री, ललित साहित्य परिषद्का संस्थापक अध्यक्ष डी.बी. टुहुरो, नेपाली लेखक संघका केन्द्रीय कोषाध्यक्ष दामु मर्सिफुल, राप्ती साहित्य परिषद्, रोल्पा शाखाका अध्यक्ष कविता उपाध्याय, नेपाल मुक्तक प्रतिष्ठान, जिल्ला शाखा रोल्पाका अध्यक्ष देवी गुरुङ, नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द, पत्रकार महासंघका पूर्वअध्यक्ष खेम बुढामगर, निवर्तमान अध्यक्ष महेश न्यौपाने लगायत साहित्यकार तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

 

अधिवेशनले केबी विरहीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा देवी गुरुङ, महासचिवमा चन्द्रज्योती सुवेदी, सचिवमा बन्दना घर्तीमगर र कोषाध्यक्षमा एन्जिला घर्तीमगर रहनुभएको छ । त्यस्तै सदस्यहरुमा सफल बुढामगर, सपना सरगम, सिजन मगर ‘चक्रे’ र हिमा खड्का रहनुभएको छ । कार्यक्रममा बोल्दै रोल्पा नगरपालिकाका निवर्तमान नगरप्रमुख पुरण क्षेत्रीले साहित्यले समाज मात्र होइन मान्छेको मनलाई समेत जोड्ने बताउनुभयो । पछिल्लो समय साहित्यमा नयाँ पुस्ता जोडिने कुरामा केही अभाव देखिएको भन्दै उहाँले पुस्तान्तरणका लागि संस्थागत अग्रसरता आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै ललित साहित्य परिषद्, रोल्पाका संस्थापक अध्यक्ष डी.बी. टुहुरोले ललित साहित्य परिषद्को विकासका लागि सबैको एकतावद्ध सहकार्य हुनुपर्ने बताउनुभयो ।

पहिलो बैठक सम्पन्न
ललित साहित्य परिषद्, रोल्पाका नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । नवनिर्वाचित अध्यक्ष के.बी. विरहीको अध्यक्षतामा सम्पन्न पहिलो बैठकले आठौं अधिवेशन सम्पन्न गर्नका लागि साथ र सहयोग गर्ने साहित्यकारहरु, पत्रकारहरु, शुभचिन्तक तथा सरोकारवालाहरुमा धन्यवाद दिने निर्णय गरेको छ । यस्तै बैठकले अघिल्लो कार्यकालका सबै पदाधिकारीहरुलाई समेत धन्यवाद ज्ञापन गरेको छ । परिषद्ले जिल्लाका सरोकारवालाहरु, परिषद्का पूर्व सल्लाहकारहरु,निवर्तमान पदाधिकारीहरुसँग समन्वय गरेर कार्यालय व्यवस्थापन तथा अन्य कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । यस्तै आर्थिक सहजताका लागि परिषदका अध्यक्ष के.बी. विरही र कोषाध्यक्ष एन्जिला घर्तीमगरको संयुक्त हस्ताक्षर चल्ने गरी खाता नामसारी गर्ने निर्णय गरेको छ । आठौं अधिवेशन पश्चात् चयन भएका नयाँ पदाधिकारीहरुको पहिलो बैठक रोल्पा नगरपालिकाको नगर पुस्तकालयमा सम्पन्न भएको थियो ।

239 total views, 2 views today