रोल्पामा सुत्केरी महिलाको मृत्यु

मालश्री अनलाइन, जेष्ठ २९ रोल्पा ।  कमजोर आर्थिक अवस्थाका कारण घरमै सुत्केरी भएकी एक महिलाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१० धबाङ गाउँकी करिब ३० वर्षीया महिलाको दुई साताअघि मृत्यु भएको हो । उनले घरैमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् । एक बच्चाको पनि मृत्यु भएको छ । रोल्पा अस्पतालका चिकित्सक डा. प्रकाशबहादुर बुढाले गर्भवतीमा उच्च रक्तचाप देखिएपछि र जुम्ल्याहा बच्चा भएकाले अप्रेसन गर्न सहज नहुने भएपछि जिल्लाबाहिर जान सुझाव दिएको बताए । ‘थप सुविधासम्पन्न अस्पतालमा जान सल्लाह दिए पनि उनी घरमा गएको पाइयो,’ उनले भने । सुत्केरीको श्रीमान् वैदेशिक रोजगारीमा छन् । उनी आठ वर्षकी छोरीसहित घरमा बस्दै आएकी थिइन् । वडाध्यक्ष मतिलाल डाँगीले जटिल अवस्थाकी गर्भवतीको अवस्थाबारे स्वास्थ्य संस्थाले सोधखोज नगर्नु दुःखद भएको बताए । पोष्ट पाटी डट कम बाट

1,615 total views, 1 views today