स्वास्थ्य कार्यालय रोल्पाद्वारा वार्षिक समीक्षा कार्यक्रमको आयोजना

 

मालश्री अनलाइन,  असोज १, रोल्पा । स्वास्थ्य कार्यालय रोल्पाले आर्थिक वर्ष २०७८-०७९ को बार्षिक समीक्षा शनिबार रेउघामा उद्घाटन गरेको छ । दुई दिन सम्म चल्ने समीक्षा कार्यक्रमको जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियारले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै उपप्रमुख परियारले स्वास्थ्य संस्थाप्रति आम मान्छेको बुझाई सकारात्मक बन्दै गएको बताउनुभयो ।

‘धामी झाँक्रीको भर पर्ने ग्रामीण समुदायका मान्छेहरु विस्तारै सरकारी स्वास्थ्य सेवाप्रति विश्वस्त बन्दै गएका छन्’ परियारले भन्नुभयो, ‘अझै पनि सेवा प्रवाहका सवालमा संवेदनशील भएर काम गर्न आग्रह गर्दछु ।’ कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले बजेट खर्चिने र लक्ष्य पूरा गर्ने मात्र नभएर स्तरीय सेवा प्रवाहमा पनि ख्याल गर्नुपर्ने बताउनुभयो । व्यवहारिक हिसाबले सिर्जनशील भएर काम गर्दा स्वास्थ्यकर्मीप्रतिको विश्वास झन् बढ्ने र त्यसले समग्र मानवीय स्वास्थ्यमा समेत सुधार आउने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचनमगरले विगतको तुलनामा रोल्पाको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको बताउँदै सेवा प्रवाहका साथै स्वास्थ्य चेतना पनि आवश्यक रहेको बताउनुभयो । सरकारी स्वास्थ्य संस्थाप्रतिको गलत धारणालाई परिवर्तन गर्न गुणस्तरीय सेवा प्रवाहका साथै जनचेतनाको पनि त्यतिकै आवश्यकता रहेको बताउनुभयो । स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख नोखराज पोख्रेलको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक प्रकाश भुसाल, रोल्पा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट् डा. रणबहादुर बोगटी लगायत दशवटै स्थानीय तहका स्वास्थ्य शाखा संयोजकहरुको उपस्थिति रहेको थियो । आइतबारसम्म सञ्चालन हुने समीक्षा कार्यक्रममा स्थानीय तहका स्वास्थ्य संयोजकहरुले समीक्षात्मक रिपोर्टिङ गर्ने बताइएको छ । आइतबार समापनमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

 

 

438 total views, 4 views today